काठमाडौँ- एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट नेपाल बाहिरिएको छ।
ओमानमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६ विकेटले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो।
जवाफी ब्याटिङमा यूएईले भने १७.२ ओभरमा केवल ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित दर्ता गराएको हो।
अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो।
जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङकङबीच हुने दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ।
उक्त खेल शनिबार हुनेछ।
सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ।


