काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको पहिलेकै लागतमा तोकिएकै समयमा सम्पन्न हुने बताएका छन्।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन्।
उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउनु भयो। उनले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए।
प्रधान सेनापतिले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनै पनि लागत नबढेको जानकारी दिएका छन्। उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए।
‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ। मलाई केही छैन। नेपालमा हजुर, हामी दाजुभाइ नै हौँ। केही लाज लाग्दैन। सक्ने, नसक्ने भन्नमा। सकिन्छ। तर एकदम सिँगारेर, फास्ट ट्र्याक भनेर युरोपको सडकजस्तो नगरे पनि हजुरहरूलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको। त्यसै भएर पुल र टनेललाई विशेष महत्त्व दिएको हो। अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला। केही फरक पर्दैन। प्राविधिक रूपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ। त्यसमा जोड दिइएको कारण यहीँ हो। अहिलेसम्म बजेट भित्रै काम गर्न हामी सफल भएका छौँ। अहिलेसम्म बजेट भित्रै छौँ। त्यो पनि कट्दैन,’ प्रधान सेनापतिले भने।
उनले अगाडि थपे, ‘५ वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दा खेरी पनि हामीले कसरी मिलायौँ होला? त्यो कुरा विचार गर्नुपर्छ। यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन। बढ्दै गएको भनिन्छ। बढेको छैन। कहाँ बढ्नु? त्यो बेलाको योजना अनुरूपको बजेटभित्रै छौँ हामी। अझ बाँकी छ पैसा। त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स छ भन्न खोजेको। लागत बढेको छैन। कुनै पनि पैसा बढेको छैन। समय पनि तोकेको समयभित्रै छौँ। ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन। त्यसले अलिकति समय लिन्छ। हामी समयभित्र पनि छौँ। बजेटभित्र पनि छौँ। काम पनि भइराखेको छ।’


