काठमाडौँ- भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु भएको छ। त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजित ‘टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री’ नामक प्रदर्शनी सुरु भएको हो।
प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा. दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताए। उनले भने, ‘यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै उपयुक्त छ। भूकम्प कसरी जान्छ रु यसले पार्ने प्रभावलाई हामीले स्पष्ट तरिकाले देखाउन खोजेका छौँ।’
उनले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताए। ‘भूकम्पपछि देखिने विभिन्न दरारहरु अध्ययन गरेका छौँ। त्यसको अवशेष पनि ल्याएका छौँ। भूकम्पीय दरारहरु विद्यार्थी र जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो’, उनले भने।
त्यसैगरी जापानका सहप्राध्यापक डा. यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ र त्यसपछिका अवस्थालाई ‘थ्रिडी मोडल’ नै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिए। ‘हामीले अनुसन्धान गरेर दरारहरु पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौँ । भूकम्पीय दरारहरुकै नमूना ल्याएर देखाउन खोजेका छौँ।’ उनले आगामी दिनमा भूकम्पसम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने बताए। प्रदर्शनी बिहीबारसम्म चल्नेछ। प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको छ।


