काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल आउँदै छन् । उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिर नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता र्र्गर्ने कार्यसूची तय भएको छ। सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्ने भएका छन्।
साथै अमिर सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुने मन्त्रालयले जनाएको छ। उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।


