काठमाडौँ- वेस्ट इन्डिज ए विरूद्ध नेपालले शानदार जित हासिल गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा वेस्ट इन्डिजविरुद्ध नेपालले ४ विकेटले विजयी भएको हो।
२०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा लक्ष्य चुमेको हो।
खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरे।
रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले।
२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक बनाउन ४७ बल मात्र कुर्नु परेको थियो। उनको यो टी२० करिअरको पहिलो शतक थियो ।
ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए।
ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए।
दोस्रो खेल आइतबार हुनेछ।


