चितवन- प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार सम्पन्न गणनामा लामिछानेले ५४ हजार १७५ मत पाएका छन्।
लामिछानेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाए। जितनारायणलाई ४३ हजार ६१ मतले पछि पार्दै रविले जित हात पारेका हुन्। एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो।
यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।
अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।


