काठमाडौँ– सीजी फुड पार्कमा भएको आक्रमणप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।
सीजी फुडमा कार्यरत कर्मचारीमाथि हातपात एवम् भौतिक सम्पत्ति तोडफोड भएको घटना निन्दनीय भएको परिसंघले बताएको हो।
देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघले माग गरेको छ।
अहिलेको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने परिसंघको भनाइ छ।
यस्ता घटनाले लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन सरकारसँग परिसंघले माग गरेको छ।
शुक्रबार अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहका अधिकांश महिला र केही पुरुषले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्दै उद्योगको भौतिक सम्पत्ति तोडफोड गरेका थिए।
समूहका १७ महिला र ५ पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
