काठमाडौँँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल फुटाउन ठूलो रकम खर्च गरिएको आरोप लगाएका छन्। पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले पार्टी फुटाउन साथ दिनेजति सांसदलाई मन्त्री अफर गरिएकाले त्यसकै प्रलोभनमा परेर पार्टी फुटाइएको जिकिर गरे।
‘५/७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो। अहिले जुन किसिमको प्रचार गरिएको छ त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छ,’ उनको भनाइ छ, ‘लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्। केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्। कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ।’
उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको आरोप उनको छ।
‘उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो। मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो। पहिला बनी बनाइदिएकै हो। अहिले पनि हुनुहुन्छ। सांसद पनि बनाइदिएकै हो। के चाहिँ बनाइदिन सक्ने थिएँ र यहाँभन्दा मैले,’ उनको भनाइ छ।
पार्टी विभाजन गर्ने कुनै आधार नै नभएको उनको भनाइ छ। ‘उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन। कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थेँ,’ उनको भनाइ थियो, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिए, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र!’
पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक, साङ्गठनिक, पद र जिम्मेवारी बाँडफाँटको मतभेद नभएको उनको भनाइ थियो। ‘पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्त्वाकाङ्क्षा’, उनले भने, ‘उहाँहरू विकल्कुल व्यक्तिगत महत्वकाँक्षाले पार्टी विभाजन गरेका हुन्,’ उनले भनेका थिए।
आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए। ‘पार्टी विभाजन भएको छैन, केही व्यक्ति बरालिएका छन्, उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार छौँ,’ उनले भने। आयोगको अवैधानिक निर्णयविरुद्ध आफू अदालत जाने उनको भनाइ छ।


