काठमाडौँ- विमल घर्ती मगर, ओलावाले अफिज र चेन्चो ग्याल्छेनजस्ता खेलाडी एकै टिममा भएपछि त्यो टिमको फरवार्ड लाइन निकै चुस्त बन्ने आकलन हुन्छ। अग्रपंक्तिमा मछिन्द्रले निकै उत्कृष्ट प्रदर्शन गरेर त्यो प्रमाणित पनि गर्दै आइरहेको छ।
थ्रीस्टार लिगकै सन्तुलित टिम हो। उसको डिफेन्सदेखि फरवार्डसम्म नै अनुभवी, उत्कृष्ट र जोशिला युवा खेलाडीको कमी छैन। लिगमा सर्वाधिक गोलकर्ता सन्तोष पनि थ्रीस्टारमै भएका कारण यी दुई टिमको खेल उत्कृष्ट हुने अनुमान गरिएको थियो, तर त्यस्तो भएन।
‘मुख्य गरेर माथिल्लो स्तरको फुटबल खेल्नको लागि दर्शक पनि चाहिन्छ। यत्रो ठूलो ठूलो टिम खेलिरहेको छ, दर्शक छैन। शक्ति दिने क्राउड नभएपछि खेल सुस्त र खल्लो भएको होला,’ बुधबारको खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि मछिन्द्रका प्रशिक्षक किशोर केसी भन्छन्, ‘खेलाडीको गुणस्तर चाहीँ टेक्निकल र ट्याक्टिकल राम्रो नै छ, फिटनेसमा समस्या केही हो।’
खेलको पहिलो हाफको अन्तिम केही मिनेट र दोस्रो हाफको केही समय मात्र खेल प्रतिस्पार्धत्मक बन्न सक्यो। बाँकी समय खेलाडीले बल मैदानको बीचतिर नै खेलाइरहे। थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र मछिन्द्रका प्रशिक्षक किशोर केही नेपाली फुटबलका निखारिएका प्रशिक्षकसमेत मानिन्छन्।
यी दुवै प्रशिक्षकको रणनीति खेलमा सफल बन्न सकेन। दुवै टिमका खेलाडीले गोल गर्न सकेनन्। र, खेल गोलरहित बराबरी भयो।
‘खेल टफ थियो। अहिलेको अवस्थामा दुवै टिम माथि जान सक्ने पोजिसन ल्याउन सक्ने टिम भएकाले प्रतिस्र्धातमक भयो। हामीले जित्न सक्ने अवस्था भए पनि सकिएन। खेलाडीले मेहेनत गरेर खेल्न सकेको हो। तर मछिन्द्रले सोचेको जति दबाब भने दिएन,’ खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने।
सुस्त सुरुआत भएको खेलको ३१औं मिनेटमा मात्र थ्रीस्टारले पहिलो मुभ बनाएको थियो। दिपेश गुरुङको त्यो प्रहार गोलकिपर विशाल श्रेष्ठको हातमा पुगेर रोकिएको थियो। यता ३५औं मिनेटमा थ्रिस्टारका मार्टिन, सन्तोष र सन्नी ब्यान्जनकार बक्सभित्र भएको अवस्थामा पनि फरवार्डबीच तालमेल बन्न नसक्दा प्रहार गर्न सकेनन्।
४७औं मिनेटमा सन्तोषले पोस्टको नजिकैबाट बाहिर प्रहार गरे। ६६औं मिनेटमा थ्रिस्टारका लाकेन लिम्बूले गरेको गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका छन्।
‘खेलमा अपेक्षाअनुसारको हामीले प्रदर्शन गर्न खोजेको हो। तर पोहोर पोहोर को स्तरको खेल अहिले देख्न पाइएको छैन। एक स्तरको खेलाडी छैनन्। खेलको स्तर त घटेकै हो नि,’ मेघराज खेल र नेपाली फुटबलको विश्लेषण गर्छन्, ‘अब सबैले मेहेनेत गरेर बनाउनु पर्छ।’
३६औं मिनेटमा आन्द्रस नियाँले दायाँ साइडबाट पोस्टतर्फ प्रहार त गरे। तर नजिकै रहेका पिटर सेगुनले क्लियर गरे। खेलको ४०औं र ४२औं मिनेटमा चेन्चोले हेडरमा गोल गर्न सकेनन्। पुजनले कर्नरबाट दिएको बलमा उनले हेडर प्रयास गरे पनि बल पोस्टको सही दिशामा रहन सकेन।
खेलको ४४औँ मिनेटमा मछिन्द्रका चेन्चोको शक्तिशाली प्रहार भने क्रसबारमा ठोक्किएर बाहिर गएको थियो। त्यसबेलामा विजय भुजेलले दिएको पासलाई अफिजले प्रहारका लागि चेन्चोलाई दिएका थिए।
त्यस्तै दोस्रो हाफमा मछिन्द्रले त्यस्तै अवसर गुमायो। एकपटक ओलावालेको प्रहार विराजले मुस्किलले क्लियर गरिदिएका थिए। अन्तिम मिनेटमा निशेन सुब्बाले निकै टाढाबाट गरेको प्रहार भने गोलकिपरले मैदानबाहिर पठाइदिएका थिए। यससँगै दुवै टिमले एकएक अंक बाँडेका छन्।
‘आज हामी जितको लागि खेल्न आएको तर एक अंक मात्र आयो। आज खासमा फ्रेममा सट नपर्नु नै जित निस्कन नसक्नुको कारण हो। मौका पाएको हो गोल गर्न सकिएन,’ जित निकाल्न सनक्नुको कारणबारे प्रशिक्षक किशोले भने, ‘हाम्रो टिममा उर्जा राम्रो छ। म सातौं चरणबाट आए देखि भुटानी खेलाडी चेन्चोको सुधार हुँदै गइरहेको छ।’
खेलपछि प्रशिक्षक मेघराज केसी अहिले ४५ प्रतिशतमा खेल मात्र भएको कारण अहिलेको स्थानले धेरै अर्थ नराख्ने पनि बताएका छन्। उनी भन्छन्, ‘आजको खेलमा तीन अंक आएन भन्नको मलतव अर्को टिमलाई पनि तीन अंक नदिएको हो नि। खासमा आजको गोल पनि दुर्भाग्यबस अफसाइड भयो।’


