पोखरा- गण्डकी प्रदेश सरकारमा दाबी गर्नका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालय पुगेको छ। दिउँसो २ बजेका बैठकमा गरी ३५ जना सांसदहरूको हस्ताक्षर संकलन गरी टोली प्रदेश प्रमुख कार्यालय पुगेको हो।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निवास सिमलचौरमा पुगेको टोलीले दाबी पेस गरेको छ। माओवादी र कांग्रेसले हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्दै दावीपत्र पेस गर्ने तयारी भइरहेको छ।
प्रदेश प्रमुखले बिहीवार नै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
मन्त्रीमण्डलमा वर्तमान राजनीतिक अवस्थालाई बुझेर काम गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउने सोचमा पाण्डे रहेका छन्। नागरिकको समस्या समाधान गर्न सक्ने वा उनिहरुको आवाज सम्बोधन गर्न सक्ने र प्रदेश सरकारले गर्ने कामको राम्रो सन्देश जनतामा पुर्याउन सक्ने पात्र चयन गर्नुपर्ने खाँचो रहेपनि भूगोल, लिंग, जातजाती र पार्टी भित्रको आन्तरिक गुट मिलाउनु पर्ने भएकोले को को लाई मन्त्री बनाउने भन्ने विषय चुनौतीपूर्ण छ।
सरकारका लागि दाबी गर्न प्रदेश प्रमुखले शुक्रबार ४ बजेसम्मको समय दिएका थिए।


