काठमाडौँ- नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनल प्रवेश गरेका छन्। यी दुई टिमबीचको खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुने भएको छ।
शनिबार त्रिवि मैदानमा भएको खेलको नतिजा नआएपनि यसअघि समूह विजेता बनेका कारण नेपाल फाइनल प्रवेश गरेको छ। शनिबारै मूलपानी मैदानमा भएको खेलमा डीएल मेथडका आधारमा युएईले ओमनलाई २ रनले पराजित गरेर फाइनल प्रवेश गरेपछि नेपाल र युएईबीचको भेट पक्का भएको हो।
शनिबार नेपाल र कुवेतबीचको सेमिफाइनल खेल भइरहेको त्रिवि क्रिकेट रंगशालामा पानी जमेर खेल हुन नसकेपछि नेपाल सिधै फाइनलमा पुगेको हो। बिहान हल्का वर्षापछि अवरुद्ध भएको खेल ४२ ओभरमा झारेर छिटो सक्ने लक्ष्य राखिएपनि पुनः वर्षा भई मैदानमा पानी जमेपछि खेलको नजिता निस्कन सकेन।
प्रिमियर कपमा समूह चरणका खेल रद्द हुने नियम थियो। तर सेमिफाइनलमा त्यो सुविधा पनि थिएन। खेलमा नतिजा आउन नसकेपछि यसअघिको नतिजामा नेपाल समूह चरणमा विजेता भएको हिसाबले सिधै फाइनलमा प्रवेश गरेको हो। यद्यपि २० ओभर खेलेको भए डीएल मेडथका आधारमा नतिजा निकालिने थियो। तर मेथडका लागि आवश्यक शर्त पुरा नहुँदा नतिजा ननिस्किएको हो।
वर्षा भएर दोस्रो पटक खेल स्थगित हुनुअघि ४२ ओभरमा झारिएको खेलमा नेपालले २८२ रनको लक्ष्य कुवेतलाई दिएको थियो। कुवेतले ८.३ ओभर खेलेर ३७ रन जोड्दा ६ विकेट गुमाएको अवस्था थियो।
कुवेत विरुद्ध सुरुमा कसिलो र घातक बलिङ गरेको नेपालले पावर प्ले नसकिँदै ६ विकेट गिराएको थियो। पेस बलर करण केसीले मात्र ५ विकेट गिराएका थिए। नेपाली टोलीका सोमपाल कामीले एक विकेट लिएपछि कुवेतले जम्मा ६ विकेट गुमाएको थियो।
मूलपानी क्रिकेट मैदानमा ओमन र युएईबीचको खेल भएको थियो। उक्त खेल पनि वर्षाका कारण प्रभावित बन्यो। तर खेलमा डीएल मेथडका आधारमा ओमानलाई २ रनले पराजित गर्दै युएई फाइनल पुग्यो। २३७ रनको लक्ष्य पछ्याएको ओमनले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल स्थगित भएको थियो।
तेस्रो स्थानका लागि कुवेत र ओमानले आइतबार प्रतिस्पर्धा गर्नेछन्। तेस्रो स्थानका लागि हुने खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ।


