आईसीसी विश्वकप लिग-२ अन्तर्गत बुधबार सम्पन्न खेलमा युएईले ६ विकेटको सहज जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मुहम्मद वासिमले शतक प्रहार गरेपछि युएईले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जित निकालेको हो।
यसअघि पिएनजीसँग लगातार हार व्यहोरिरहेको युएईले आजको खेलमा २४ रनमै पहिलो विकेट गुमाएको थियो। तर, वासिमले ६० बलमा नै शतक प्रहार गरेर टिमलाई बचाए।
पहिलो पारीमा ब्याटिङ गरेको पिएनजीले ७ विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा युएईले ३८ ओभर ४ बलमा २३६ रन बनाउँदै जित निकाल्यो।
युएईका वासिमले २७औं ओभरमा हेकुरेको हातबाट क्याचआउट हनुअघिसम्म ७६ बलमा ६ चौका र १२ छक्का हानेर ११९ रन बटुलेका थिए। काबुय मोरियाले रिले ह्याकुरेको हातबाट उनलाई क्याचआउट गराएका हुन्।
२३५ रनको लक्ष्य पाएको युएईलाई ओपनिङमा आएर टिमको खातामा १७२ रन पुर्याउन महत्त्वपूर्ण योगादन दिए वासिमले। खेलमा ओपनर आर्यन लाक्रा चार रनमै आउट भए भने दोस्रो विकेटका रूपमा ३३ रन बनाएका भृत्य अरविन्द आउट हुँदासम्म टिमले १४९ रन बनाएको थियो।
युएईका लागि आयान अफजल खानले २७ रन बनाए भने सिपी रिजवनले पनि २९ रन बनाएका थिए। पिएनजीका हेकुरेले दुई विकेट लिए।
पहिलो पारीमा पिएनजीका कप्तान आसाद भालालो ६५ रन बनाए भने नर्मन भाउनाले अविजित ४९ रन र किप्लिन डोरिगोले २४ रन बनाए।आजको खेलसँगै लिग-२ को यात्रा सम्पन्न गरेको पिएनजीले ३५ खेलबाट ५ जित निकालेर ११ अंक बनाएको छ। ३५ खेलबाट ३३ अंक बनाएको युएईको भने एक खेल बाँकी छ। भोलि हुने आईसीसी विश्वकप लिग २ को यो अन्तिम खेलमा नेपालले युएईको सामना गर्नेछ।


