काठमाडौं- पछिल्ला केही दिनयता नेपाली कांग्रेससँग जोडिएर दुई विषय सतहमा आएका छन्। पहिलो- गणतन्त्रकी पम्फादेवी र दोस्रो- पार्टी सुधारको बहस।
वैशाख १० गते भएको उपनिर्वाचनको परिणाममा कांग्रेस बढी केन्द्रित भएको तनहुँमा पराजय भोगेपछि रुपान्तरणको बहस चलिरहेको छ। कांग्रेस परित्याग गरेको २४ दिनमै डा स्वर्णिम वाग्लले कांग्रेसकै गढ भत्काइदिएपछि नेता-कार्यकर्ता झस्किएका छन्। यसपछि कार्यकर्ताले ‘अब सक्किने, कि सच्चिने?’ भन्दै नेतृत्वमाथि प्रश्न तेर्स्याइरहेका छन्। आफूलाई सबैभन्दा ठूलो दल दाबी गर्ने कांग्रेसको पराजयले रूपान्तरणको बहसलाई सतहमा ल्याइदिएको छ। यद्यपि कांग्रेस सुधारका विषयमा बहस भएको यो पहिलो पटक होइन।
000
पराजयपछि पार्टी रुपान्तरणको बहस ब्युँतिएका बेला गणतन्त्रकी पम्फादेवीको चर्चा पनि सुरु भएको छ। यो चर्चाको सुरुवात भूतपूर्व कांग्रेस नेतासमेत रहेका सांसद् डा अमरेशकुमार सिंहले गरेका छन्। त्यो पनि प्रतिनिधिसभाको बैठकबाटै।
वैशाख १३ गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्त्वको वक्तव्यमाथि प्रश्न गर्दै उनले ‘गणतन्त्रकी पम्फादेवी’को प्रसंग उप्काएका थिए। ‘०४५/४६ सालमा पञ्चायत ढल्ने बेलामा पम्फादेवीको नाम चर्चित थियो, भ्रष्टाचारको नाममा। अहिले गणतन्त्रको पम्फादेवीले भ्रष्टाचार गरेर आक्रान्त पारेको छ। गणतन्त्र जाने अवस्थामा छ,’ उनले भनेका थिए, ‘पम्फादेवीहरुलाई कसरी लगाम लगाउने? जति ठूला भ्रष्टाचार भएको छ, त्यो सबैमा पम्फादेवीहरुको संलग्नता हुन्छ। त्यसकारणले गणतन्त्रको पम्फादेवी माथि सरकारले कदम चाल्छ? भ्रष्टाचारलाई कसरी खत्तम पार्छ?’
अमरेशले संसद्मै पम्फादेवीको संज्ञा दिएकी पात्र हुन्, डा आरजु राणा। उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन्। प्रतिनिधि सभामा कांग्रेस कोटाबाट समानुपातिक सांसद् बनेकी उनी पार्टीमा केन्द्रीय सदस्यको हैसियतमा छिन्।
अमरेशले संसद्मा नाम नलिई राणालाई पम्फादेवीको संज्ञा दिएका थिए। तर, उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा भने आफूले भनको पम्फादेवी डा आरजु राणा भएको लुकाएका छैनन्। आरजुलाई अमरेशले किन गणतन्त्रकी पम्फादेवी करार गरे त?
डा आरजु पम्फादेवी भएको आरोप लगाइरहँदा अमरेशले पञ्चायतकी पम्फादेवीको पनि नाम लिएका छन्। पञ्चायतकी पम्फादेवी भनेर तत्कालीन रानी ऐश्वर्या शाहलाई उनले भनेका हुन्। त्यो बेला उनलाई पम्फादेवी ठकुरी भनिन्थ्यो। राजाको शासनकालमा रानीले भ्रष्टाचार गरिन् भनेर भन्न र लेख्न सक्ने अवस्था थिएन। त्यसकारण त्यो बेला ‘पम्फादेवी ठकुरी भ्रष्टाचारमा संलग्न’ भनेर प्रचार गरिन्थ्यो।
२०४६ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन सकिएको केही महिनापछि ऐश्वर्या तिजको छेको पारेर पशुपतिनाथ दर्शन गर्न गएकी थिइन्। बागेश्वरी पुगेपछि एमालेलगायतका दलमा आबद्ध क्रान्तिकारी महिलाहरुले घेराबन्दी गर्दै ‘पम्फादेवी’ भनेर विरोध गरेका थिए। रानी ऐश्वर्याले देशमा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति स्विस बैंकमा ‘पम्फादेवी ठकुरी’को नाममा राखेको आरोप लागेको थियो। पछि रानी ऐश्वर्याको विरोध गर्न परे यही नामबाट विरोध गर्न थालियो। त्यसबेला पम्फादेवी भनेको एउटा प्रतीकात्मक नाम थियो, बदनाम र भ्रष्टाचारी।
०४६ सालमा बन्न लागेको संविधानको खिलापमा षडयन्त्र गरेको आरोप पनि रानी ऐश्वर्यामाथि थियो। फुर्तिफार्ति र उनको नाटकीय काम धेरैले मन पराउँदैनथे। उनलाई हार्डलाइनरको प्रतिनिधिका रुपमा चिनिने गरिएको थियो। तत्कालीन राजा वीरेन्द्रले ऐश्वर्याको सहमतिविना निर्णय लिन नसक्ने र ऐश्वर्याले शक्तिको दुरुपयोग गरेको आरोप थियो।
अहिले शक्तिको दुरुपयोग र भ्रष्टाचारको सन्दर्भमा ऐश्वर्या र आरजु समान रहेको अमरेशको दाबी छ। ‘पञ्चायतकी पम्फादेवीका कारण पञ्चायत ढलेको हो। ०६३ सालपछिकी पम्फादेवीका कारण गणतन्त्र ढल्न लागेको छ,’ उनी भन्छन्, ‘राजा वीरेन्द्रका पालामा सबै निर्णय पम्फादेवीले गर्थिन्। उनी थिइन्- रानी ऐश्वर्या। उनले स्विस बैंकमा पैसा राखेको चर्चा थियो, त्यसबेला।’

सांसद डा अमरेशकुमार सिंह।
गणतन्त्रकी पम्फादेवी अर्थात् डा आरजुले सभापति देउवाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप डा अमरेशको छ। ‘पम्फादेवीहरूमाथि छानबिन हुनुपर्छ। शेरबहादुर देउवाकी श्रीमती भएर उहाँले पावरको दुरुपयोग गर्नुभएको छ। सभापतिको पावर होस् वा प्रधानमन्त्री (देउवा प्रधानमन्त्री भएका बेलाताका) को पावर।’
अमरेशका शब्दमा पञ्चायतकी पम्फादेवीले भन्दा गणतन्त्रकी पम्फादेवीले शक्तिको दुरुपयोग धेरै गरिरहेकी छन्। ‘शक्तिको दुरुपयोग गणतन्त्रको पम्फादेवीले बराबर आजसम्म नेपालको इतिहासमा कसैले गरेको छैन, राजाको श्रीमतीले पनि गरेको थिएन,’ उनी भन्छन्।
आरजुमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाउने अमरेश एक्ला नेता भने होइनन्। कांग्रेसभित्र आरजुको हेपाइ, पेलाइ र हालिमुहालीको सँधै नकारात्मक रूपमा चर्चा रहन्छ। तर सार्वजनिक रुपमा कमैले मात्र यसबारे बोलेका छन्। देउवा प्रधानमन्त्री भएका बखत आरजुको हालिमुहाली देखेर कांग्रेसका धेरै नेता दिक्क थिए। तर सार्वजनिक टिप्पणी भने गर्दैनथे।
‘पार्टीमा त अहिले पनि उहाँको प्रभुत्व छँदैछ। पार्टी निरन्तर क्षयीकरण भइरहेको छ। रुपान्तरणको बहस टाल्न आत्तिन नपर्ने अभिव्यक्ति दिइरहनुभएको छ। यसबाटै सबै कुरा प्रष्ट हुन्छ। शेरबहादुर दाइ प्रधानमन्त्री हुँदाताकाको हालिमुहालीबारे त कुरा गरिसाध्य छैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘अमरेशजीले अहिले सार्वजनिक रुपमा गर्नु भएको टिप्पणी शतप्रतिशत सत्य हो। रानी ऐश्वर्याको भन्दा बढी आरजुको रजगज छ। त्यसकारण उहाँलाई गणतन्त्रकी पम्फादेवी भनेर अमरेशले दिएको संज्ञा मलाई खुब घत लागेको छ।’
देउवा प्रधानमन्त्री भएका बेला डा आरजुले प्रशासनिक संयन्त्रलाई ‘कन्ट्रोल’ मात्रै गरेकी थिइनन्, विदेश मामलामा समेत हस्तक्षेप गरेकी थिइन्। पार्टी सञ्चालनका सन्दर्भमा पनि उनको रवैया उही थियो। गत वर्गसम्म तीन तहका निर्वाचनमा टिकट वितरणमा उनले गरेको चलखेल र हस्तक्षेप छिपेका छैनन्।
नजिकिएर टाढिएकाहरु नै लगाउँदैछन् आरोप
आरजुलाई गणतन्त्रकी पम्फादेवीको संज्ञा दिने अमरेश तीनै नेता हुन्, जसले गत असोज २३ गते कांग्रेसबाट विद्रोह गरेका थिए। सर्लाही-४ मा टिकट नपाएपछि उनले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले कात्तिक २२ गते उनलाई कारबाही गरेको थियो।
स्वतन्त्र उम्मेदवारी दिएका अमरेशले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार रायलाई पराजित गरिदिए। अमरेश तिनै नेता हुन्, जो ०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन सक्रिय थिए। तत्कालीन संस्थापन समूह (कोइराला) छाडेर देउवा क्याम्पमा प्रवेश गरेका उनले देउवालाई सभापति बनाउन भूमिका खेलेका थिए। महामन्त्रीमा भने उनले शशांक कोइरालालाई सघाएका थिए। उनले मत मागेका देउवा सभापति र कोइराला महामन्त्रीमा निर्वाचित भएपछि उनको प्रतिक्रिया थियो, ‘अहिलेको चुनावी परिणामप्रति म सन्तुष्ट छु, यसका लागि मैले पनि भूमिका खेलेको हो।’
तर उनको सन्तुष्टि लामो समय टिक्न सकेन। देउवासँग दूरी बढ्दै गयो। ‘उहाँ (देउवा) डेलिभरी गर्न नसक्ने मान्छे हो। उहाँसँग काम गर्न सुदूरपश्चिम, क्षेत्री समुदायको, पैसा बुझाउन सक्ने र कांग्रेस प्रजातान्त्रिक पृष्ठभूमिको हुनपर्ने थियो,’ डा अमरेश थप्छन्, ‘ती कुनै पनि योग्यता मसँग थिएनन्। जसका कारण त्यो समूहबाट म बाहरिन पर्ने अवस्था आयो।’
जसलाई सभापति र महामन्त्री बनाउन भूमिका खेले, उनीहरुकै कार्यकाल नसकिँदै डा अमरेश महाधिवेशन प्रतिनिधिसमेत बन्न सकेनन्। २०७८ मंसिर २१ गते पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भए। उनले त्यो बेला आफूलाई हराउन पार्टी नेतृत्व र सरकार नै लागेको आरोप लगाएका थिए।
महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लाको क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने अवस्थामा समेत पुगेका थिए उनी। आफू पक्षका नेता-कार्यकर्तालाई क्रियाशील सदस्यता दिनुपर्ने उनको माग थियो। तर उनको माग भने सुनुवाई भएन। बरु सह-महामन्त्री बन्ने सपना देखेका उनी महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए। देउवा समूहले सुरेन्द्र सिंह र वीरेन्द्र सिंह (सहोदर दाजुभाइ)लाई प्रयोग गरेर आफूलाई कमजोर बनाएको बुझाइ अमरेशको छ। सुरेन्द्र अहिले सर्लाही कांग्रेसका सभापति हुन् भने विरेन्द्र कांग्रेस मधेश प्रदेशको उपसभापति। स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै सुरेन्द्रले अमरेशलाई कारबाहीका लागि सिफारिस समेत गरेका थिए। उनीहरुकै जोडबल र केन्द्रीय नेतृत्वसमेत दाहिने नहुँदा अमरेश सर्लाही-४ मा टिकट पाउनबाट बञ्चित भएका थिए। स्वतन्त्र उम्मेदवारी दिएर जित निकालेका उनी आजभोलि देउवा दम्पत्तिविरुद्ध खनिँदै आएका छन्।
देउवा र आरजुले ज्यादती गरेको आरोप लगाएर डा स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेको आज (आइतबार) ठ्याक्कै एक महिना पुगेको छ। यो अवधिमा उनले कांग्रेस मात्रै त्यागेनन्, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे, तनहुँ-१ मा उम्मेदवारी दिएर कांग्रेसलाई नै पराजित गरिदिए। उनले कांग्रेस छाड्दै गर्दा भनेका थिए, ‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’

डा स्वर्णिम वाग्ले।
वाग्लेले किन कांग्रेस छाडे? त्यसमा आरजुको भूमिका के थियो भन्नेबारे पत्रकार सुजित महतले उकालोमा लेखेका थिए। डा स्वर्णिमले आरजुलाई ‘करप्ट लेडी’ (भ्रष्ट महिला) भनी आरोपित गरेको कुरा टेप रेकर्ड भएको र त्यो टेप देउवा दम्पत्तिसम्म पुगेको महतले उल्लेख गरेका छन्। आफूहरूसँगै कुनै बेला निकट रहेका डा वाग्लेले नै त्यति कटु टिप्पणी गरेको भन्दै देउवा दम्पति क्रुद्ध बने। त्यसपछि मंसिर ४ मा भएको निर्वाचनका लागि कांग्रेसबाट टिकट लिने वाग्लेको ईच्छामा देउवा दम्पत्तिले ब्रेक लगाए।
000
कांग्रेसबाट अलग भएपछि सिंह र वाग्लेले सार्वजनिक रुपमा आरजुमाथि आरोप लगाइरहेका छन्। तर आरजुकै कारण डडेल्धुरा कांग्रेसका तत्कालीन सभापति तथा सुदुरपश्चिम प्रदेशसभाका सदस्य कर्ण मल्लले पनि पार्टीबाट हात धुनुपरेको थियो। मल्ल र आरजुबीचको टकरावको कारण पनि आर्थिक लेनदेन नै थियो। मल्ल कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति बनेका छन्।
देउवाको राजनीतिक यात्रामा लामो समय सारथी बनेका मल्ल कांग्रेसबाट किन बाहिरिए? कथा रोचक छ। देउवा कांग्रेसबाट साधारण सदस्यसमेत नहरने गरी कारबाहीमा पर्दा र नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा स्वकीय सचिव थिए- मल्ल। २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेर प्रधानमन्त्री देउवालाई अपदस्थ गरेपछि मल्ल दरबार निकट बनेका थिए। त्यसपछि देउवासँग उनको सम्बन्ध चिसिएको थियो। राजाको शासनकालमा देउवा जेलमा थिए। तर मल्ल राजासँग नजिक भएर अञ्चलाधीश खाने तयारीमा रहेको सूचना देउवाले पाए।
मल्लबारेको त्यो सूचनाले क्रुद्ध बनेका देउवाले जेलबाटै तत्कालीन प्रजातान्त्रिक कांग्रेस डडेल्धुराका सभापति रघुवर भट्टलाई भनेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गराएका थिए। तर ०६२/०६३ को आन्दोलनपछि मल्लले आरजुसँग सम्बन्ध नवीकरण गरे। जसले देउवासँगको सम्बन्ध सुधारमा सहयोग गर्यो। र आरजुमार्फत् आफू पनि राजनीतिमा स्थापित हुने र आरजुलाई पनि राजनीतिमा ल्याउने योजनामा मल्ल लागे। कांग्रेस राजनीतिमा मल्लको उदय र विलयमा आरजु नै जोडिन पुगिन्।
डडेल्धुराको कांग्रेस राजनीतिलाई लामो समय नजिकबाट नियालेका एक जानकारका अनुसार देउवा ०५६ सालपछि एकैपटक ०६४ सालमा गृहजिल्ला डडेल्धुरा पुगेका थिए। त्यो बेला उनले डडेल्धुरा, बैतडीको पाटन र डोटीको गोपघाटमा भएका तीन वटा आमसभालाई सम्बोधन गरेका थिए। सुदूरपश्चिम भ्रमण सकेर काठमाडौँ फर्कने अघिल्लो साँझ उनी अमरगढीस्थित स्थानीय ठेकेदार लोकेन्द्र गुरुङको घरमा बास बसेका थिए। गृहजिल्ला जाँदा देउवा गुरुङको घरमा पस्ने/बस्ने गरिरहन्थे। त्यो साँझ कर्ण मल्ललगायतका करिब १५ जना नेता देउवासँग बात मार्दै थिए। त्यही क्रममा आरजुको प्रसंग निस्कियो।
त्यो साँझ देउवाले मल्ललगायतका नेताहरूलाई आरजुलाई राजनीतिमा आउन प्रेरित नगर्न सुझाएको छलफलमै सहभागी ती जानकार सुनाउँछन्। ‘भाउजूको कुरा उठ्यो अनि दाइले भन्नुभएको थियो- तिमीहरुले आरजुलाई राजनीतिमा आउन नउक्साउनू। उनको विज्ञता जेमा छ, त्यसमै केन्द्रित हुन देऊ। त्यसले उनलाई पनि राम्रो हुन्छ, पार्टीलाई पनि। अहिले तिमीहरुले उसलाई राजनीतिमा आउन उचाल्यौ भने पछि तिमीहरुलाई नै समस्या हुन्छ, दुःख पाउँछौ,’ ती जानकारले सम्झिए, ‘तर मल्लजीहरू भाउजूको चाकडीमा लाग्नुभयो। राजनीतिमा ल्याइछाड्नुभयो। आखिर दाइले भनेझैं समस्या उहाँहरुलाई नै भयो।’

कांग्रेस सभापति देउवाको दायाँतर्फ कर्ण मल्ल। फाइल तस्बिर
०६७ सालमा भएको कांग्रेसको १२औँ महाधिवेशनमा मल्ल डडेल्धुरा कांग्रेसको सभापति बने। त्यो बेला देउवा भने रघुवर भट्टलाई सभापति बनाउन चाहन्थे। तर आरजुले मल्ललाई सभापति बनाउन जोडबल गरेपछि देउवाले धेरै अड्डी कसेनन्। मल्ल सभापति भएकै बेला आरजु महिला कोटाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। २०७२ सालमा दोस्रो पटक मल्ल सभापति बन्दा पनि आरजुको भरथेग थियो। तर सम्बन्ध पहिले जस्तो थिएन।
०७० सालको संविधानसभा निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा देउवा तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भए। त्यसपछि आरजु र मल्लबीचको सम्बन्ध चिसो बन्न थाल्यो। त्यसको कारण थियो- आर्थिक कारोबार। त्यो बेला देउवाका वैधानिक पीए भानु देउवा भएपनि आर्थिक कारोबार भने मल्लले नै सम्हाल्थे। त्यो बेला डाबर नेपाललगायतका बहुराष्ट्रिय कम्पनीले देउवालाई दिएको चन्दा मल्लले दुरुपयोग गरेको आरोप आरजुले लगाएकी थिइन्। राम्रो चन्दा पाएपनि मल्लले लुकाएको आरोप आरजुले लगाएको ती जानकार सम्झन्छन्।
आरजुले चन्दामार्फत प्राप्त भएको सबै रकम मागेकी थिइन्, तर मल्लले फिर्ता गरेनन्। ‘यो विषयमा दाइले खासै माइन्ड गरेनन्, किनकि उनी राजनीतिक मान्छे हुन्। तर भाउजूले सहन सक्नुभएन। कर्णजीसँगको सम्बन्ध बिग्रँदै गयो। ०७२ मा कर्णजी सभापति बन्दासम्म सम्बन्ध चिसिएको थियो। तर पनि दाइ-भाउजूको सहयोग प्राप्त गरे।’
१३औं महाधिवेशनबाट देउवा कांग्रेसको सभापति बनेपछि मल्लसँग आरजुको ‘इगो’ झाँगिदै गयो। मल्ल नेतृत्वको कांग्रेस डडेल्धुराको कार्यसमितिलाई बेवास्ता गर्दै देउवाले क्रियाशील सदस्य वितरण र नवीकरणमा कैँची चलाइदिए। मल्ल समूहलाई बाइपास गरेर देउवाले डडेल्धुरामा जिल्ला अधिवेशन गराए। जिल्ला सभापतिमा भीमबहादुर साउद निर्वाचित भए। कुनै बेला देउवाको स्वकीय सचिव बनेर काम गरेका मल्ल किनारामा पर्दै गए। अन्ततः २०७९ वैशाखमा भएको स्थानीय तहमा उनले एमालेसँग तालमेल गर्दै कांग्रेसविरुद्ध मोर्चाबन्दी गरी चुनाव लडेका थिए। स्थानीय निर्वाचनपछि उनी कारबाहीमा परे र सुदुरपश्चिम प्रदेशसभा सदस्यको पद पनि गुमाए। हाल नेपाली कांग्रेस बीपीको वरिष्ठ उपाध्यक्ष रहेका उनी मंसिरमा सम्पन्न आम निर्वाचनमा देउवाविरुद्ध उम्मेदवार बनेका थिए। तर, देउवालाई पराजित गर्न भने सकेनन्।
000
आजभोलि आरजुले दिएको एउटा अभिव्यक्ति चर्चामा छ। शुक्रबार धनगढीमा उनले उपनिर्वाचनको परिणामलाई लिएर कांग्रेस आत्तिन नपर्ने बताइन्, ‘उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो।’

देउवा दम्पत्ति
पार्टी छाड्नेहरुले आरजुमाथि पम्फादेवीको आरोप लगाइरहेका छन्। समानुपातिक/समावेशी सिद्धान्तको धज्जी उडाउँदै तेस्रो पटक समानुपातिक सांसद बनेकी आरजुको हेपाइ र पेलाइले पार्टीमै क्रियाशीलहरू वाक्क छन्। पार्टी रुपान्तरणको बहस छेडिएको छ। तर आरजु भने रुपान्तरणको बहसलाई टाल्न कार्यकर्तालाई नआत्तिन भन्दै ‘फर्मान’ जारी गरिरहेकी छन्।



