काठमाडौँ- नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले कार्यभार सम्हालेका छन्। १५ वैशाखमा बसेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिले उनलाई कम्पनीको सीईओमा नियुक्त गरेपछि वैशाख १७ गते उनले कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हाल्दै पोखरेलले बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली र वित्तीय प्रविधि कम्पनीहरूमा २७ वर्षभन्दा बढीको अनुभव सम्हालेका पोखरेल यसअघि एफवान सफ्ट इन्टरनेसनल र एम नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत थिए। उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौँ र हिमालयन बैंकमा व्यवस्थापनको उच्च र मध्य पदमा काम गरेको अनुभव पनि लिएका छन्।
युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गरेका पोखरेल नेपालमा डिजिटल भुक्तानीमा क्षेत्रमा थुप्रै कोसेढुङ्गा सावित भएका काममा संलग्न भएको कम्पनीको भनाइ छ।


