काठमाडौँ- चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी-चाबहिल विस्तारको काममा ढिलाइ हुँदा सर्वसाधारणले खेप्नुपर्ने सास्ती दिनानुदिन बढ्दै गएको छ।
वर्षाको समयमा हिलाम्य सडक घाम लागे धुलाम्य हुन्छ। यसका कारण सवारीसाधन र सडकवरपरका घरपसलको सास्ती बढिरहेपनि जिम्मेवार निकायले सास्ती कम गर्ने कुनै प्रयास गरेको छैन।
चक्रपथको दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने र सर्भिस ट्रयाक खोल्ने काम भइरहेको आयोजनाले जनाएको छ। आयोजना विस्तार गर्ने ठेक्का चिनियाँ कम्पनी साङ्घाइ कन्स्ट्रक्सनले पाएको छ। २०१२ डिसेम्बर १८ मा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कन्स्ट्रक्सनबीच भएको सम्झौतामा २०१५ को अप्रिलसम्ममा आयोजना पूरा गर्ने उल्लेख छ।
यही सडकका विषयमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले जिम्मेवार निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।
नेपाली कांग्रेसका सांसद पौडेलले जेठ ३१ गते र चिनियाँ राजदूत छन सोङ भेटवार्ता गरी सडकको काम छिटो अघि बढाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए।
चिनियाँ दूतावासमा यी दुईबीच भएको भेटमा चक्रपथ विस्तारमा नेपाल र चीनबीच भएको सम्झौताअनुसार छिटो काम सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए।
यसअघि उनले प्रतिनिधि सभामा उक्त सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैंले यो खण्ड निर्माण समयमा नै गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए।
राजदूत छनसँग भएको भेटमा पौडेल र छनबीच यही विषयमा कुराकानी भएको थियो। चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन।
‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौँ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए।
‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ।
राजदूत छनसँग भेट गर्नुअघि पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट गरी सहकार्य गरी दबाब बढाउन सकिने योजना सुनाएका थिए।
गत जेठ १२ गते बालेनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सडकको सास्ती कम गर्न जिम्मेवार नदेखिएको तर आफूहरूले गाली खान परिरहेको भन्दै स्टाटस लेखेका थिए।
‘विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ। काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ। जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ,’ उनले लेखेका थिए, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला।’
यसअघि फागुन २९ गते पनि बालेनले स्टाटस लेख्दै सम्झौताअनुसार काम अघि बढाउन आग्रह गरेका थिए।
‘चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिनाभित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ,’ उनले लेखेका थिए ४० महिना (३ वर्ष ४ महिना)भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि सङ्केत देखिँदैन।’
सडक निर्माण कार्यले सडकसँग मात्र सम्बन्ध राख्ने नभई सामाजिक, आर्थिक तथा वातावरणीय ह्राससँगको क्षतिको विषय उठाएका थिए। तर सडक बन्ने प्रक्रिया अतिसुस्त छ।
तस्बिरमा हेर्नुहोस् कलंकी चाबहिल सडक खण्ड:
















तस्बिर : नेपाल फोटो लाइब्रेरी


