विराटनगर- विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ।
सोमबार महानगरको १४औं नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन्।
महानगरले चालु वर्ष संशोधनसहितको ३ अर्ब ३६ करोड १७ लाख बजेट तर्जुमा गर्दा जेठ मसान्तसम्ममा २ अर्ब ३७ करोड ५४ लाख ६२ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ।
आन्तरिक आय ८९ करोड ५० लाख लक्ष्य राख्दा महानगरले जेठ मसान्त सम्ममा ४१ करोड ९८ लाखमात्र आम्दानी भएको छ।
उपप्रमुख कार्कीले आगामी वर्षको कूल अनुमानित बजेटका लागि आन्तरिक आयबाट १ अर्ब १० करोड ८६ लाख ८५ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्तशुल्कबाट ५ करोड ८५ लााख ४१ हजार, वन रोयल्टीवाट ५ लाख ८२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख एक हजार, मनोरञ्जन तथा विज्ञापन करबाट एक करोड आय गर्ने लक्ष्य छ।


