काठमाडौँ- बिहीबार प्रतिनिधि सभा बैठक चलिरहेका थियो। सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई विधेयकमाथि छलफल गर्नका लागि प्रस्ताव गर्न समय दिए।
मन्त्री तामाङले प्रतिनिधि सभाको सोस्टममा पुगेर ‘विधेयकमाथि छलफल गर्न प्रस्ताव गर्छु’ भने। तर उनले विधेयक भने रोस्टममा नै छोडेर आसनमा पुगेर बसे। विधेयक थियो- ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८। यस विधेयकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले छलफल गरी प्रतिवेदन पनि बुझाएको छ। प्रतिवेदनसहितको विधेयक मन्त्री तामाङले पेस गरेका थिए।
मन्त्री तामाङले उक्त प्रतिवेदनसहितको विधेयक टेबल गर्नुपर्ने थियो। उनले टेबल नगरेपछि अब के गर्ने भनी सभामुख घिमिरे अलमलिए। के गर्ने के नगर्ने भए।
संसदका कर्मचारीतिर हेरिसकेपछि सभामुखले भने, ‘हामी आफैँले अब त्यसलाई यता (टेबलमा) ल्याउने सोचाइ बनायौँ।’
सभामुखको कुरा सुनेपछि सांसदहरूले सम्भवत: त्यसो गर्न नहुने भने।
यसपछि सभामुखले थप प्रष्ट पार्दै भने, ‘हैन तेल्लाई विधि नै… अब! आज एकपल्ट भो! तेल्लाई अब हामी नै यता राखेर टेबल गर्छौँ। उहाँले टेबल गरे बराबर भयो भन्ने मानौँ भन्ने हामीले सल्लाह गर्यौँ अब यहाँ।’
यसपछि संसदका कर्मचारीलाई रोस्टमबाट टेबलमा ल्याएर राख्न सभामुखले निर्देशन दिए, ‘तेल्लाई यता ल्याएर राखौँ न।’ प्रतिनिधि सभाको युट्युब च्यानलबाट प्रसारण गरिएको भिडियोमा अरु सांसदहरूको प्रतिक्रिया देखाइएको छैन। सायद सांसदहरूले त्यसो गर्न नहुने भनेका हुन सक्छन्। तर मन्त्री तामाङलाई भने देखाइएको छ।
उता मन्त्री तामाङले आफूले टेबल गर्नपर्ने तर नगरी फर्किएकाले कमजरी भएको महसुस गरेर हुन सक्छ, कुर्सीमा अढेस लागेर बसेको आसनबाट थोरै लम्कन खोजे।
यसपछि सभामुख घिमिरेले मन्त्री तामाङलाई प्रश्न गरे, ‘आफैँ लिएर आउने हो?’
सभामुखको रुलिङ आउन पर्नेमा प्रश्न आएपछि मन्त्री तामाङ झनै अलमलिए। अब के गर्ने त? रनभुल्लमा परेका मन्त्री तामाङ फिस्स हासिदिए। मन्त्रीको प्रतिक्रिया देखेपछि सभामुखले आफूले रुलिङ गर्नुपर्ने सम्झिए। मन्त्रीलाई उक्त विधेयक टेबल गर्न रुलिङ गरे। मन्त्री तामाङ उठेर फेरि रोस्टम पुगे। प्रतिवेदनसहितको विधेयक टेबल गरेर फर्किए। विधेयकमा छलफल सुरु भएको छ।


