काठमाडौँ- पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।
उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए।
उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो। भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो।
यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए।
प्रहरीका अनुसार पीडित प्रेमराज पन्थीले जाहेरीमा आफूले रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई जोरपाटीको एक रेष्टुरेन्टमा भेटेको उल्लेख गरेका छन्।
‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २०७७ सालको असोज महिनाको ८/१० गतेतिर मलाई जोरपाटीमा बोलाएका थिए, त्यहाँ केशवप्रसाद दुलाल, प्रतीक थापासँगै बसेका थिए,’ उनले भनेका छन्, ‘त्यतिबेला प्रतिक थापाले म, रामशरण केसी र सागर राईलाई तपाईंहरूको काम अब अगाडि बढ्छ, रकम जम्मा गरेर केशव दुलाललाई दिनु भनेका थिए।’
त्यसअनुसार चिरञ्जीवी आचार्यमार्फत आएको १ करोड रुपैयाँ रातो–सेतो रंगको जेब्रा झोलामा होलेर स्कुटरमा नगद लिएर आउ भनेको स्थानमा गएको उनले उल्लेख गरेका छन्।
‘त्यसरी भनेको निलगिरि रेष्टुरेन्टमा जाँदा त्यहाँ प्रतीक थापा र केशवप्रसाद दुलाल दुवै जनाले नगद भएको झोला गाडी पार्किङमा रहेको कारमा राखिदिनु भनेका थिए,’ उनले भनेका छन्, ‘त्यसपछि म र रामशरण केसीले नगद भएको झोला झिरेर राखिदिएको हो।’
काम हुन्छ÷हुन्छ भन्दाभन्दै झुलाएकोमा पछि संसद् विघटन भएपछि भण्डारीले नेता टोपबहादुर रायमाझीसँग कुरा गरेको उनले भनेका छन्। त्यतिबेला टोपबहादुरले ‘फेरि हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भनेको’ जाहेरीमा उल्लेख छ।
यसपछि भण्डारी र दुलाललाई रकम फिर्ता गर्न दबाब दिन थालेको भन्दै उनले भनेका छन्, ‘यसपछि रकम फसेको र काम पनि नहुने भएपछि मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवदेन दिएको थिएँ।’
रकम फिर्ता गर्न दबाब दिंदा प्रतीक थापाले इन्द्रजीत राई (तत्कालीन सुरक्षा सल्लाहकार) को सुनाकोठीमा भएको फ्याक्ट्री आफूलाई पास गरिदिनुपर्ने र आफूले ६० प्रतिशत रकम फिर्ता गर्ने बताएको भनिएको छ।
प्रतिवादी सानु भण्डारीले प्रतीक थापाले भनेअनुसार उनकी आमा नैनकला थापालाई समेत पैसा दिन भनेको खुलाएका थिए। बादलका छोरा प्रतीक र अर्का प्रतिवादी सन्देश शर्मा साथी भएकाले उनीसँग भेट भएको प्रतिवादीहरूको भनाइ थियो।
ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशवप्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका थिए।
सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका थिए। उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए– ‘आमा १ करोड रुपैयाँ पाउनुभयो कि भएन?’
नैनाकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतीकले गिरोहका सदस्यहरूलाई भनेका थिए– ‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो।’ शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए।
प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाडसहित भीआईपीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाँण रिहा भएका छन्। यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन्।


