मोरङ- नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच पार्टी एकता भएको छ। सोमबार यी चार दलबीच विराटनगरमा एकता घोषणा भएको हो।
उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा १० बुँदे पार्टी एकतामा हस्ताक्षर गरेका छन्।
भूमि व्यवस्थामन्त्री चौधरीले एकता घोषणासभाको उद्घाटन गर्दै यो पार्टी दमनको विरुद्धमा जन्मिएको बताइन्। उनले विगतमा सुदूरपश्चिमको टीकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस् भन्नका लागि हामी एकजुट हनुपर्नेमा जोड दिइन्। मन्त्री चौधरीले राजबन्दी रिहाइ र जनताको विकासप्रतिको चाहना पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरी सदन र सरकारमा सहभागी भएको प्रष्ट पारिन्।
सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्बू, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला सङ्घर्ष समितिका अध्यक्ष चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिए।
