काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्र नारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार एमाले कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच देव एमाले प्रवेश गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देवलाई पार्टीमा प्रवेश गराएका हुन्।
लामो समय एमालेबाट राजनीति गरेका उनी विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस प्रवेश गरेका थिए।
मदन भण्डारी नेतृत्वको तत्कालीन नेकपा (माले)मा केन्द्रीय सदस्यसमेत भइसकेका उनी पुनः एमालेमै फर्किएका हुन्।
कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बनेका उनको कार्यकाल २०८० फागुन २० मा सकिएको थियो।
विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेसनबाट राजनीति थालेका जितेन्द्र देव २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक थिए।
एमाले विभाजनपछि नेकपा मालेमा लागेका देव मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका थिए।
करिब १७ वर्षपछि देव पुनः एमालेमा फर्किएका हुन्।


