काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन्। जसपाले पनि हात उठाएपछि प्रचण्ड सरकार थप संकटमा परेको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन्।
यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए।
यता प्रचण्डका पक्षमा अब ७० सांसद मात्र रहेको देखिएको छ।
माओवादीका ३२, रास्वपाका २१, नेकपा एसका १० र जनमत पार्टीका ६ जना सांसद छन्। यी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन्। यद्यपि जनमत पार्टी प्रष्टसँग प्रचण्डको निरन्तरताका पक्षमा उभिएको छैन।
नागरिक उन्मुक्तिकी रञ्जिता चौधरीले पनि प्रचण्डकै निरन्तरता चाहेकी छन्। उनको दलबाट ४ जना सांसदले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन्। तर रञ्जितालाई नै संसदीय दलको नेताबाट कारबाही गरी सांसदको हैसियतमा मात्र सीमित गरेका सांसदहरूले साथ दिने सम्भावना निकै कम छ।
२७५ सदस्यीय प्रतिनिधि सभा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ। तर उक्त संख्या आफ्नो पक्षमा उभ्याउने भन्दै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।



