जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहले ६ जना मन्त्री बर्खास्त गरेका छन्।
शनिबार विश्वासको मत लिनुअघि सिंहले सबै मन्त्रीहरूलाई बर्खास्त गरिदिएका हुन्।
यसअघि मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए।
तर राजीनामा दिन नमानेका सबै मन्त्री बर्खास्त गरिएको मुख्यमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ।
मधेश सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिए। उनीहरू दुवै जना बर्खास्तीमा परेका छन्।
नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री थिए। उनलाई पनि मुख्यमन्त्रीले बिदा गरेका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगारमन्त्री थिइन्। नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चारमन्त्री थिइन्। उनीहरू दुवै जना बर्खास्तीमा परेका हुन्।
सिंहले आजै विश्वासको मत लिएर नेपाली कांग्रेसहितलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्।


