काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
‘सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने। पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा रास्वपाले समर्थन दिएको थियो।
रास्वपा उपप्रधान सहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा गएको थियो। तर, माघ १३ गते तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृह मन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भएका थिए।
चैत ६ गते प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिँदा रास्वपाले समर्थन गरेको थियो। उपनिर्वाचनको नतिजासँगै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने संंकेत गरेको थियो। प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपाले दुई स्थानमा विजय हासिल गरेको थियो।


