नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस प्रस्थान गरेका छन्। सोमबार उनी नयाँदिल्लीबाट मस्कोतर्फ प्रस्थान गरेका हुन्।
मस्कोका लागि विमानमा बस्नुअघि उनले एक्स (ट्विटर)मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आपसी सहयोगको समीक्षा गरिने बताएका छन्।
भारत-रुस दुवै देशबीच विशेष रणनीतिक साझेदारी पछिल्ला १० वर्षमा तीव्र गतिमा अघि बढेको मोदीको भनाइ छ। मोदीले अस्ट्रियालाई पनि भारतको दृढ र विश्वसनीय साझेदार भनेका छन्।
मोदी २२औँ भारत-रूस वार्षिक शिखर सम्मेलनका लागि मस्को लागेका हुन्। मोदी तीन दिन रूसमा रहनेछन्।
रसियाले युक्रेनमा आक्रमण गरेको दुई वर्ष भइसकेको छ। युक्रेनमाथि आक्रमणको विरोध पश्चिमा देशमा भइरहेका बेला भारतसँगै चीनले रुसी कदमको विरोध गरेको छैन।
उता उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सम्मेलन भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले रुस भ्रमण गर्नुले अर्थपूर्ण संकेत गरेको विश्लेषण हुन थालेको छ।

नाटो स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा अमेरिकाको वासिंटनमा सम्मेलन हुन लागेको हो। सम्मलेनमा ३२ देशका नेताहरूलाई बोलाइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबारदेखि तीन दिनका लागि आयोजित सम्मेलनमा ३२ ट्रान्सएटलान्टिक राष्ट्र गठबन्धनका नेताहरूलाई स्वागत गर्ने तयारीमा छन्।
बाइडेनले एसियामा नाटोको बढ्दो भूमिकाको सङ्केत गर्न अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड र दक्षिण कोरियाका नेताहरूलाई पनि आमन्त्रित गरेका छन्।
विश्वव्यापी समर्थन खोजी गरिरहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सम्मेलनका मुख्य पात्र बन्नेछन्। यद्यपि नाटोले युक्रेनलाई निमन्त्रणा दिएको छैन।
सन् १९४९ मा स्थापित नाटो सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई समर्थन गर्दै आएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोका कारण संयुक्त राज्य अमेरिकालाई आर्थिक बोझ परेको भन्दै आलोचना गर्दै आएका छन्। ट्रम्प आगामी चुनावमा पनि अमेरिकी राष्ट्रपतिको पदका लागि उम्मेदवार बन्ने तयारीमा छन्।


