काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।
बिहीबार बसेको जनता समाजवादी पार्टी संसदीय दल बैठकले यस्तो निर्णय लिएको जसपाका सांसद प्रदीप यादवले जानकारी दिएका छन्।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूले संसदमा राख्नुहुने विश्वासको मतको प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने र नेकपा एमाले, नेपाली काँग्रेसलगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरिएको छ,’ सांसद यादवले फेसबुकमा लेखेका छन्।
प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।
सत्ता साझेदार एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेस मिली सरकार बनाउने समझदारी गरेको छ।
उक्त सरकारालाई राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेस र एमालेको दाबी छ। एमाले-कांग्रेसलाई साथ दिएर सरकार बनाउन सहयोग गर्ने जसपाको निर्णय छ।
जसपा दाहाल सरकारमै सहभागी भएको थियो।



