काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थिति जस्तो भएपनि कर्मचारी र सुरक्षा निकायले अविचलित भएर जनसेवा गर्नुपर्ने बताएका छन्।
आइतबार बिहान तीन वटै सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजीनिवास खुमलटारमा बोलाएर उनले यस्तो बताएका हुन्।
भेटकका क्रममा सिमलताल पहिरो, दुई बस बगाएको घटनाका विषयमा पनि चासो व्यक्त गरेका थिए। उनले बस र यात्रुको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी पनि लिएका थिए।
उपलब्ध सबै उपायहरूको अबलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन उनले निर्देशन दिएका थिए।
बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका थिए। सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद पनि व्यक्त गरेका थिए।


