काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अपराधको निष्कर्षमा पुग्नै लागिएको जिकिर गरेका छन्।
आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले यस्तो जिकिर गरेका हुन्। आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निष्कर्षको नजिक पुगेको उनको जिकिर छ।
‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं। बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिनँ’, गृहमन्त्री लामिछानेले भने, ‘किनकि रिजल्ट आओस् अनि भनौँला भनेर। हामी कति नजिक पुगेका छौँ, सुरक्षा निकायलाई थाहा छ। मलाई क्रेडिट चाहिँदैन। सबै क्रेडिट नेपाल प्रहरीले लिओस्।’
लामिछानेले ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको बताएका थिए।
आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको उनको भनाइ छ।


