काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीको आन्दोलन रोकिएको छ।
मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिकले आन्दोलन स्थगन गरेका हुन्।
१५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने आश्वासन कृषिमन्त्री रामनाथ अधिकारीले दिएपछि कर्मचारीले आन्दोलन रोकेका हुन्।
असार ३१ गते मन्त्रीको कार्यभार सम्हाल्न मन्त्रालय प्रवेश गर्न लागेका मन्त्री अधिकारीलाई कर्मचारीले रोकेका थिए।
केही समयको वार्तापछि अधिकारीलाई कर्मचारीले कार्यकक्षसम्म पुग्न सहयोग गरेका थिए।
कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्तिविकास हुन नसकेको भन्दै धर्नामा छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए।
तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए।


