काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन्।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशायी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे।
महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।
भेटघाटमा काठमाडौँ महानगरका सभापति नीलकाजी शाक्य, ललितपुर महानगरका सभापति सुवानन्द धाख्वा, भरतपुर महानगरका सभापति चित्रसेन अधिकारी सहभागी थिए।
यस्तै विराटनगर महानगरका सभापति दीपक चापागाईं र वीरगञ्जका महानगर सभापति मनीन्द्र नेपाली सहभागी थिए।


