काठमाडौँ- नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन्।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति भोजपुरले बीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा कुपण्डोलस्थित मेक्सिम्स ब्याङ्क्वेटमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन्।
‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरु अरु तिर चियाउन जान थाले। एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो। एमालेसँगको गठबन्धनमा रहदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो। दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो। प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन् थियो होला,’ उनले भने।
माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार संचालन गरोस भन्ने आफूहरुको इच्छा रहेको भएपनि परिस्थिति बदलिएको उनको धारणा थियो। ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौं। तर परिस्थिति बदलियो,’ उनले भने।
फरक प्रसंगमा उनले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली काङ्ग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गरे। ‘अब दुई वर्ष अहिलेको सरकार चल्छ। त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ। यसबीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ,’ उनले भने।
