काठमाडौँ- सोमबार मात्र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताइन्।
मन्त्री डा. राणासँग भेट गर्न जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरू आएपछि उनीहरुलाई आस्वासन दिँदै मन्त्री राणाले यस्तो बताएकी हुन्।
बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा. राणालाई भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए।
भेटमा मन्त्री डा. राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको उनका बुबालाई बताइन्।
आफू परराष्ट्रमन्त्री भएदेखि विपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई विपिको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको मन्त्री राणाको भनाइ थियो।
बिबिसी नेपालीका अनुसार हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्।
गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो।
अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले पुष्टि गरेका छन्।
पछिल्ला कुराकानीमा पनि इजरेली पक्षले जोशी जीवितै रहेको हुन सक्ने सङ्केत गरेको हालै इजरेलबाट फर्किएकी निवर्तमान राजदूत कान्ता रिजालले बताइन्।
गत अक्टोबर ७ मा हमासले इजरेली सीमा क्षेत्रमा प्रवेश गरेर गरेको आक्रमणका क्रममा बन्धक बनाइएको ठानिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ।
हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा बन्धक बनाइएकामध्ये नेपालका जोशी पनि भएको ठानिएको छ।
इजरेल र हमासबीच भएको सङ्घर्षविरामका क्रममा केही बन्धकहरू रिहा भए पनि हमासले जोशीलाई रिहा गरेको थिएन।
जोशीको परिवारले सोमवार नै हालै इजरेलबाट फिर्ता भएकी राजदूत कान्ता रिजालसँग पनि भेट गरेको थियो।
सरकारको निर्णयसँगै इजरेलबाट फिर्ता भएकी निवर्तमान राजदूत रिजालले आफू नेपाल आउनुअघि आफूले उद्धारमा समन्वय गरिरहेका इजरेली अधिकारीहरूसँग भेट गरेको बताइन्।
दुई साताअघि भएको भेटमा इजरेली पक्षले आफूलाई जोशी जीवितै रहेको हुन सक्ने आशा गरेको जबाफ दिएको उनी बताउँछिन्।
“हामी सबैलाई थाहा छ विपिन जोशीलाई अस्पतालको दृश्यमा देखिएको थियो। त्यो भनेको चाहिँ उहाँलाई जीवितै गाजामा पु¥याइएको भन्ने प्रमाण थियो। त्योभन्दा अरू केही प्रमाण थिएन,” रिजाललाई उदृत गर्दै बीबीसीले लेखेको छ।
त्यसो भएको भएर रिजाल एकदमै धेरै आशावादी रहेको बिबिसीले उल्लेख गरेको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सोमवार मात्रै सिफारिस भएकी रिजालले विपिन मुक्त नहुँदै इजरेलबाट आफू फर्किनुपर्दा “नरमाइलो“ लागेको सुनाइन्।
गत नोभेम्बरमा भएको सङ्घर्षविरामपछि पनि इजरेलले केही बन्धकहरूको जीवितै उद्धार गरेको छ भने केही बन्धकको उद्धारका क्रममा मृत्यु भएको पनि विवरण आएका थिए।
हमासको हमलामा परेर ’लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो।
हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केही बेर ‘सक्रिय’ रहेको पाइएको अधिकारीहरूले बताएका थिए।
विपिन जोशी रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए परीक्षण गर्दा कसैको पनि डीएनए मिलेको थिएन।
उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो। इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो।


