सिचुआन- दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्।
सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ।
बिहान ११ बजेसम्म ६ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए।
‘एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्,’ सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ, ‘हाल उद्धारकर्ताहरु घटनास्थलमा खटिएका छन्।’
गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो।
मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८ जनाको मृत्यु भएको थियो।


