ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ पलायन भएकी छन्।
उनको राजीनामा माग गर्दै देशभर आन्दोलन चर्किएपछि हसिना सुरक्षित स्थानतर्फ पलायन भएकी हुन्।
सोमबार दिउँसो साढे २ बजेतिर सैनिक हेलिकोप्टर चढेर उनी भारततर्फ प्रस्तान गरेकी हुन्।
उनको साथमा उनकी बहिनी शेख रेहाना पनि रहेको ढाका ट्रिब्युनले समाचार लेखेको छ।
स्रोतका अनुसार उनी भारतको पश्चिम बंगाल पुगेकी छन्।
समाचार संस्था एपीएफले उनी सुरक्षित स्थानमा पुगेको उल्लेख गरेको छ।
बंगलादेशबाट हेलिकोप्टरमा चढ्नुअघि उनले सम्बोधन गर्ने प्रयास गरेकी थिइन्। तर त्यसका लागि अवसर भने पाइनन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पलायन भएकी हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत लेखेको छ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन्।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफलको तयारी गरेका छन्।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या ३ सय पुगिसकेको छ।
अदालतले आरक्षण र कोटा प्रणालीलाई ५ प्रतिशतमा सीमित गरेपनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी थियो।
तनावका बीच बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अवरुद्ध छ।
हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो ।
आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन्।
त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन्।


