धनगढी- सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले शपथ खाएका छन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ खाएका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका छन्। त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले शपथ खुवाएका छन्।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले शपथ खाएका छन्।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिरा सार्की नियुक्त भएर शपथ खाएका हुन्।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदले शपथ खाएकी छन्। त्यस्तै नागरिक उन्मुक्तिबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको रुपमा शपथ खाएका हुन्।
एमालेका पाल, थापा र सार्की यसअघि पनि मन्त्री बनेका थिए।


