काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफूले दैनिक १८ घण्टा काम गरिरहेको जिकिर गरेका छन्।
प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
‘मन्त्रालय मातहतका बेथिति र विसंगतिलाई हटाउन १८ घण्टा काम गरिरहेको छु। विकृतिको डंगुरमाथि उभिएको अनुभूतिसमेत भइरहेको छ,’ उनले भने। उनले आफू संसदमा तेस्रोपटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्नसमेत अपिल गरेका छन्।
मन्त्री पदलाई ठूला र दुर्लभ नठानेको उनको जिकिर छ। ‘मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मिहिनेतको भरमा काम गरिरहेको छु,’ मन्त्री पाण्डेले भने।
बुधबार भएको हेलिकाेप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको उनको भनाइ थियो।


