काठमाडौँ– सोमबार प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले अनौठो हर्तक गरे। बैठक सुरु भए लगत्तै उनले उभिएर आकस्मिक समयमा बोल्न समय मागे।
सभामुख देवराज घिमिरेले बैठकमा आकस्मिक समय र विशेष समयमा बोल्ने व्यवस्था नगरिएको जानकारी गराए। तर, सिंह र नेमोकिपाका सांसद् प्रेम सुवालले बोल्ने समय मागरिहे।
सभामुख घिमिरेले दुवै सांसद्लाई बस्न आग्रह गरिरहेका थिए। यहीबीचमा सिंहले कपडा खोल्न थाले। उनी अर्धनग्न अवस्थामा उभिएपछि सभामुख घिमिरेले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई चेतावनी दिए। सभ्यरुपमा प्रस्तुत हुन आग्रह गरेका घिमिरेले थप कारबाही गर्ने चेतावनी समेत सिंहलाई दिए।
सिंहले भने भ्रष्टाचारविरुद्ध बोल्ने समय नदिएकाले विरोधस्वरुप कपडा खोल्न आफू बाध्य भएको बताएका छन्। उनले भनेका छन्, ‘भ्रष्टाचारबारे बोल्न समय माग गर्दा मलाई बोल्ने समय दिइएन। यो बाहेक मसँग विकल्प थिएन।’
सांसद सिंहले संसद्को गरिमा उल्लंघन गरेबापत कारबाही गरे भोग्न तयार रहेको पनि बताएका छन्।


