साओ पाउलो- ब्राजिलको राजधानी साओ पाउलोमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको छ। ५७ यात्री र ४ चालक दलका सदस्य रहेको विमान स्थानीय समयअनुसार शुक्रबार दुर्घटनामा परेको हो।
विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्कावेलबाट साओ पाउलो सहरस्थित ग्वारुल्होस विमानस्थलतर्फ गइरहेको थियो। विमान भिन्हेडो सहर नजिकै दुर्घटना भएको हो।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडार-२४ का अनुसार शुक्रबार बिहान ११ बजेर ५६ मिनेट (स्थानीय समय)मा विमान कास्कवेलबाट उडेको थियो।
ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ।
‘विमान उडान गर्न पूर्ण रूपमा फिट थियो। विमानका चालक दलसँग सबै लाइसेन्स थिए,’ उसले भनेको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका फुटेजमा एटीआर ७२–५०० विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ।
कास्कवेलस्थित यूपेक्कन क्यान्सर अस्पतालले मृतकमध्ये दुई जना आफ्नो अस्पतालका ट्रेनी डाक्टर रहेको जनाएको छ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर तारिसिसो गोमेज डे फ्रिटासले तीन दिनको शोकको घोषणा गरेका छन्।
ब्राजिलका लागि यो दुर्घटना सन् २००७ यताकै सबैभन्दा ठूलो विमान दुर्घटना हो। सन् २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १९९ जनाको मृत्यु भएको थियो।
फ्रान्सेली–इटालियन एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ।
सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा ठूलो क्षेत्रमा आगो फैलिएको र विमानको भग्नावशेषबाट धुवाँ निस्किरहेको देखिन्छ।
विमान बस्तीमा खसेपनि वरपर मानिसहरू भने सुरक्षित रहेको बताइएको छ। विमान दुर्घटनाबाट एउटा घरमा क्षति पुगेको छ।
विमान दुर्घटनाको कारण खुल्न बाँकी छ।


