सिन्धुपाल्चोक- भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवस्थाको अवलोकन गरेको छ। सो टोलीले आज जिल्लाको मेलम्ची, हेलम्बू, खाडीचौर, जुरे, बाह्रविसे, सुनकोशी, खागदल, ब्वाँसेरीलगायत स्थानमा विपद्बाट भएको क्षतिको निरीक्षण गरेको छ।
विपद्ले पु¥याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारी लिएका हुन्। अनुगमनको क्रममा खाडीचौरमा वर्षौदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै उनले तत्काल बाँकी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।
सडक विभागका महानिर्देशकसहित निरीक्षण टोलीले उक्त पुलको बाँकी काम तत्काल सम्पन्न गर्नेगरी आवश्यक प्रक्रिया सुरु गरिने बताएको छ। गत असारमा गएको बाढीले बगाएको खागदल खोलाको अवस्था पनि उक्त टोलीले निरीक्षण गरेको छ। नेपाल–चीनबीचको मुख्य व्यापारिक नाकासम्म उक्त अरनिको राजमार्गमा दुई साताभित्रै वेलिब्रिज निर्माण सम्पन्न हुनेगरी काम अगाडि बढाउन मन्त्री दाहालले निर्देशन दिए।
बाह्रविसे–पिस्कर सडक, बाह्रविसे–बुधेपा–घोर्थली सडक स्तरोन्नति, बाह्रविसे वडा नंम्वर ६ र ७ जोड्ने ब्वाँसेरी मोटरेबल पुल, जुरे क्षेत्रको सडकको दिगो समाधानलगायत विषयमा स्थानीय, जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वले मन्त्री तथा सडक विभाग समक्ष ध्यानाकर्षण गराएका थिए। उक्त स्थानका अवस्थाको जानकारी लिँदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
यसैबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले आज छापभन्ज्याङ–ठाँटीपोखरी–ढाँडखोला–फट्केश्वर सडक कालोपत्रेको शिलान्यास गरेका हुन्। सो अवसरमा मन्त्री मास्केले राजनीतिक आस्थाहरू फरक भए पनि सबै मिलेर सहकार्य गर्दै विकास गर्ने कुरामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। भूकम्प र बाढीले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए।
पूर्वभौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे। उनले पधेरेचौरदेखि फट्केस्वर सडकमा एक हप्ताभित्र टेण्डर आह्वान गरेर कालोपत्रेका लागी प्रक्रिया अगाडि बढाउन आग्रह गरे। पूर्वसांसद सुवास कर्मचार्यले यस भेगबाट काठमाडौँ राजधानी जानलाई सबैभन्दा छोटो र पक्की भएकाले यो सडकको महत्त्व रहेको बताए।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ठेक्का प्रक्रियामा जाँदा समयमै काम सम्पन्न नहुने, म्याद थप्दै काम गर्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय काम नहुने भन्दै यस्ता समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराइन्। उनले सहज रुपमा काम सम्पन्न गर्ने वातावरण मिलाउन सबै स्थानीयलाई आग्रह गरिन्।
रु ११ करोडमा ठेक्का लागेको सो सडक विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले जानकारी दिए।


