काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुस्तकालय बनाउने भएकी छन्।
पिपुल्स लाइब्रेरी नाम दिएर उनले पुस्तकालय बनाउन लागेकी हुन्। पत्नी राधिकाले पुस्तकालय बनाउने लागेको भन्दै प्रधानमन्त्री ओलीले सघाउन आग्रह गरेका छन्।
‘त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन्। राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘तपाईँहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ।’
पुस्तकालयका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्टाउने भएकी छिन्।


