काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन्। जिल्ला अदालतमा थुनछेक बयानका लागि उपस्थित भएका उनले अभियोग इन्कारी बयान दिएका हुन्।
शुक्रबार थुनछेक बहसअघि बिहीबार बयान उनको गराइएको थियो। बयानमा उनले मुख्य प्रमाणलाई नै अस्वीकार गरेका छन्।
उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेको दाबी पनि गरेका छन्।
झाविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा शुक्रबार हेर्दाहेर्दैमा रहेको छ। अब उनी थुनामा जाने कि रिहा हुन्ने भन्नेबारे आइतबार आदेश आउने अपेक्षा गरिएको छ।
000
श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश श्री तीर्थराज के.सी. को इजलासमा ठगी, लिखत कीर्ते र राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूर (मु.नं.०७९-८१-२२७१) मुद्दाको पुरक अभियोगको रुपमा पेश भएको (मु.नं. ०८१-८1-०६३७) मुद्दामा प्रतिवादी बेचन झाले यस अदालतमा गर्नुभएको बयान
सवालः-१- तपाईको बाबु, आमाको नाम थर, तपाईको नाम, थर, उमेर, के हो ? स्थायी ठेगाना कहाँ हो ? सम्पर्क नं. के हो? तपाई कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनु हुन्छ ? विस्तृत विवरण सहित खुलाईदिनुहोस्।
जवाफः- मेरो हजुरबुवाको नाम रामस्वरुप झा हो। बुबाको नाम दुःख मोचन झा हो। मेरो आमाको नाम महालक्ष्मी देवी हो। मेरो नाम वेचन झा हो। म ६६ वर्षको भएँ। पर्सा जिल्ला, वीरगंज उप.म.न.पा वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ३२ वानेश्वरमा आफ्नै घरमा वस्दछु। मैले नेपाल विद्युत प्रधिकरणको ट्रान्समिटरको प्रसारण लाइनको व्यवसाय गर्दछु। मेरो सम्पर्क नं.-९८५१****२२ हो।
सवालः-२-तपाई आज अदालतमा किन आउनु भएको हो?
जवाफः- गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध मुद्दामा बयानको लागि उपस्थित भएको हुँ।
सवालः-३- तपाईलाई तपाई उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर वयान दिन कर छैन, तपाईले दिएको वयान तपाईको बिरुद्धमा प्रमाण लाग्न सक्छ, तपाई वयान दिन तयार हुनुहुन्छ?
जवाफः- म बयान दिन तयार छु। मेरो बयान गरी पाउँ।
सवालः-४-तपाईले यो भन्दा अगाडी कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ, छैन? खुलाईदिनुहोस्।
जवाफः यो भन्दा अगाडी कुनै फौजदारी कसुरमा सजाय पाएको छैन। हाल विचाराधिन अवस्थामा समेत कुनै मुद्दा छैन।
सवाल-५- तपाइको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ? तपाईलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ हुन्न? तपाईले कानून व्यावसायी राख्नु भएको छ, छैन? कानून व्यवसायी राख्न सक्नु हुन्छ हुन्न?
जवाफः- मेरो शारीरिक अवस्था कमजोर रहेको छ। स्वास्थ्य अवस्था नाजुक छ। मैले आँखा कम देख्छु। आँखामा यूभीआईटीको समस्या छ। तीन तीन महिनामा आँखामा इन्जेक्सन लगाउन पर्छ। घाटीमा समस्या छ। बोल्न गाह्रो हुन्छ। मुटुको रोग, ब्लड प्रेसर हाइ तथा कोलेष्ट्रोल हाई छ। पिसाब थैलीको रोग पनि छ। छिनछिनमा पिसाब लाग्ने समस्या छ। पायल्सको समस्या छ। राम्ररी बस्न गाह्रो छ। अहिले सोधिएका प्रश्नको जवाफ दिन सक्ने अवस्थामा छु। मैले कानुन व्यावसायी नियुक्त गरेको छु।
सवालः-६ तपाईको परिवारमा कति सदस्य हुनुहुन्छ? आर्थिक अवस्था सम्बन्धमा खुलाईदिनुहोस्।
जवाफः- मेरो परिवारमा मेरो श्रीमती, २ छोरा, १ छोरी र म रहेकोमा छोराछोरी सबै विदेशमा बस्छन्। मेरो नाउँमा घर जग्गा केही छैन। मेरो श्रीमतीको नाउँमा काठमाडौंमा घर छ।
सवाल-७ यसै मुद्दाको मुख्य मुद्दा (मु.नं. ०७९-c1-२२७१) का प्रतिवादीहरु मध्ये को-कस्लाई चिन्नुहुन्छ? निजहरुसँग लेनदेन रिसइवी झगडा छ छैन?
जवाफः- यसै मुद्दाको मुख्य मुद्दा (मु.नं. ०७९-C1-२२७१) का प्रतिवादीहरु कोही कसैलाई चिन्दिन। नचिनेका प्रतिवादीहरुसँग लेनदेन रिसईवी केही हुने कुरै भएन र छैन।
सवाल-८ जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरुले तपाई समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरु छन्, सो सम्बन्धमा तपाईलाई के थाहा छ? को-को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसूर गर्नुभएको हो? खुलाइदिनुहोस्।
जवाफः- मैले गजेन्द्र बुढाथोकीसमेतका जाहेरवालाहरु कसैलाई चिन्दिन। जाहेरवाला गजेन्द्र बुढाथोकी समेतले दिएको जाहेरीको विषयमा मलाई केही थाहा छैन। जाहेरवालाहरुलाई भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन। यस सम्बन्धमा मैले कुनै कसुर गरेको छैन। अरु को कसको के कस्तो संलग्नता छ सो सम्बन्धमा समेत मलाई कुनै जानकारी छैन।
सवालः-९ तपाईलाई सह-प्रतिवादी रामशरण के.सी.ले अनुसन्धानको क्रममा गरेको बयानमा मन्त्रीपरिषदमा बुझाउनको लागि भनी रकम माग गरेको भनी प्रतिवादी सानु भण्डारीले भनेकोले रामशरण के.सी. ले आफ्नो नाउँको हिमालयन बैंकको रु. दुई करोडको चेक तपाईको नाउँमा काटी वानेश्वर ह्वाइट हाउस अगाडी तपाईलाई भेटी दिएको भन्ने सम्बन्धमा तँपाईको के भनाई छ? खुलाई दिनुहोस्।
जवाफः- मैले रामशरण के.सी. भन्ने व्यक्तिलाई तथा सानु भण्डारीलाई चिन्दिन। मैले रामशरण के.सी. लाई भेटेको पनि छैन। मैले निजबाट चेक लिएको पनि छैन। निजले अनुसन्धानको क्रममा गरेको बयान झुट्टा हो। रामशरण के.सी. ले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक छ।
सवालः १०-तँपाईले अधिकार प्राप्त अधिकारी समक्ष गर्नुभएको बयान व्यहोरा पढीवाची सुनाइन्छ सो बयानहरुको व्यहोरा तपाईको हो वा होइन? र उक्त बयानहरुमा भएका सहीछापहरु तपाईका हुन् वा होइनन्?
जवाफः- मैले अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा पढी वाची सुनाउँदा सुनी पाएँ। उक्त बयानको व्यहोरा मैले भने बमोजिम लेखिएको ठीक हो। सो बयानमा भएको सहीछाप पनि मेरो नै हो।
सवालः-११ अनुसन्धानका क्रममा बुझिएका रामशरण के.सी., श्यामकृष्ण श्रेष्ठ र कन्चन श्रेष्ठ समेतका व्यक्तिहरुले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा पढीवाची सुनाइन्छ निजहरुको भनाई व्यहोरा के कसो हो? खुलाईदिनुहोस्।
जवाफः-मैले बुझिएका व्यक्तिहरु रामशरण के.सी., श्यामकृष्ण श्रेष्ठ र कन्चन श्रेष्ठलाई चिन्दिन। म लामो समयदेखी मेरो अफिसमा बसेको छैन। मेरो स्वास्थ्य अवस्थामा समस्या परेकोले म लामो समयदेखी स्वास्य परीक्षण तथा रेगुलर चेक जाँचको लागि भारतको नयाँ दिल्लीस्थित नयडामा बस्दै आएको छु। कन्चन श्रेष्ठले मैले अफिसमा सँगै बसेको अवस्थामा चेक दिएको भनी लेखाएको रहेछन्। मैले रामशरण के. सी. बाट चेक लिएको तथा कन्चन श्रेष्ठलाई चेक सटही गर्न पठाएको समेत छैन। रामशरण के.सी. समेतले गरिदिएको घटना विवरण कागजका विषयमा मलाई केही थाहा भएन। म निर्दोष छु। निजहरुले गरेको कागजको व्यहोरा झुट्ठा र काल्पनिक छ।
सवालः-१२ तपाईको साथबाट के के बरामद भएको छ? खुलाइदिनुहोस्।
जवाफः- मेरो साथबाट प्रहरीले कालो रङ्गको पर्स थान-१, वेचन झा भारत सरकार लेखिएको कार्ड थान-१, वेचन झा आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान-१, खरानी रङको स्यामसुङ मोवाइल थान-१ र आकाशे रङको एप्पल मोवाइल थान-१ बख्मद गरी लगेको छ।
सवालः-१३-तपाई उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा (१)(२) र (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दावी लिइएको छ र जाहेरवालाहरुको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदावी लिइएको अभियोगपत्र छ सो अभियोग माग दावी बमोजिम तपाईलाई सजाय हुनुपर्ने हो होइन? र जाहेरवालाहरुको रकम तपाई समेतले फिर्ता दिनुपर्ने हो वा होइन? सम्पूर्ण व्यहोरा खुलाईदिनुहोस्।
जवाफः- मैले म उपर दायर भएको अभियोग मागदावी पढी वाची सुनाउँदा सुनि पाएँ। म विरुद्ध लागेका सबै अभियोग माग दावी झुट्टा र नियोजित छन्। मैले कुनै लोभ लालच तथा प्रलोभनमा परी सरकार र राज्य विरुद्ध गर्नु नहुने कुनै कसुर गरेको छैन। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा मेरो कुनै संलग्नता छैन। मेसे संलग्नता नै नभएको विषयमा पोल गरेको आधारमा म विरुद्ध लगाइएको अभियो झुट्ठा छ। म निर्दोष छु। मलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन।
सवालः-१४ तपाईको साक्षी प्रमाण केही छ की खुलाईदिनुहोस्।
जवाफः- मेरो निम्न साक्षी प्रमाण बुझी पाउँः-
(क) झापा जिल्ला, खुदुनाबारी गा.वि.स. स्थायी घर भई हाल का.जि. तारकेश्वर न.पा. वडा नं.-बस्ने वर्ष ५५ को नरेन्द्र काफ्ले..
(ख) नुवाकोट जिल्ला विदुर गाउँपालिका, वडा नं.११ बस्ने अन्दाजी वर्ष ४५ को केदार प्याकुरेल..
सवालः-१५ माथी उल्लिखित व्यहोरा पढीवाची सुनाइन्छ। व्यहोरा कसो भयो ? खुलाई दिनुहोस्।
जवाफः-माथि लेखिएका सबै व्यहोरा मैले भने बमोजिम लेखिएको हो भनी सही गर्ने, प्रतिवादी- बेचन झा
ईति संवत् २०८१ साल साउन महिना ३० गते रोज ४ शुभम्…


