कलकत्ता- भारतको पश्चिम बङ्गाल राज्यको कलकत्तामा गत अगस्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र बलात्कारको विरोध देशव्यापी बनेको छ।
कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन्।
चिकित्सकलाई सुरक्षाको माग गर्दै विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’का साथै देशभरका मेडिकल कलेज र स्वास्थ्यसंस्थामा प्रदर्शन जारी राखेका छन्।
कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा स्थानान्तरण गरिएको छ।
अगस्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।
ती महिला चिकित्सकमाथि बलात्कार र हत्याका आरोपित सञ्जय रोयको साइकोलोजिक जाँच हुने भएको छ।
यसबाट घटनामा को-को संलग्न थिए र कसरी घटना घट्यो? भन्ने पत्ता लाग्ने बताइएको छ। उक्त मुद्दालाई लिएर अस्पताल प्रशासनको भूमिकाका विषयमा पनि जानकारी मिल्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कोलकाता प्रहरीले भाजपाका पूर्व सांसद् लकेट चटर्जीलाई पनि सोधपुछका लागि बोलाएको छ। उनीमाथि पीडित चिकित्सकको पहिचान सार्वजनिक गरेको आरोप छ।
यसैगरी सोही अस्पतालका डा कुणाल सरकार र डा सुबर्नो गोस्वामीबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जसमाथि अफवाह फैलाएको आरोप छ। उक्त मेडिकल कलेजका प्रिन्सिपल सन्दीप घोषसँग तीन दिनदेखि लगातार सोधपुछ चलिरहेको छ।
कानून र व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ।
जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनको लागि भारतीय नागरिक सुरक्षा संहिता (सन् २०२३ पहिले सीआरपीसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ ।


