काठमाडाैँ– १० महिना अघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुलाउने तयारी गरेको छ।
२०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बन्द गरेको टिकटक खुलाउने विषयमा कुराकानी भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतको भनाइ छ।
सामाजिक सद्भाव खल्बल्याउन प्रेरित गरेको भन्दै प्रचण्ड सरकार टिकटक बन्द गरेको थियो। टिकटक बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन गर्न खोजेको आरोप सरकारमाथि लागेको थियो।
टिकटकले पटकपटक आफूहरु नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको बताएपछि टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी भएको मन्त्रालयको स्रोतको दाबी छ।
मन्त्रालयका अनुसार ३ महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने शर्त राखेर प्रतिबन्ध फुकाउने तयारी गरेको हो।
टिकटकमाथिको प्रतिबन्ध हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग पनि छलफल गरेका थिए। टिकटक खुलाउने विषयमा कांग्रेस सकारात्मक देखिएपछि प्रतिबन्ध हटाउन लागिएको हो।


