तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा पर्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
चालक र सहचालकसहित ४३ मध्ये १६ जनालाई घाइते अवस्थामा उद्धार गरी काठमाडौँ पठाइएको छ।
बुधबार भारतको गोरखपुरबाट पोखरा आइपुगेका उनीहरू बिहीबार पनि पोखरामा नै बसेर शुक्रबार बिहान काठमाडौँका लागि प्रस्थान गरेका थिए।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार १६ घाइतेलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो।
उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौँका लागि प्रस्थान गरेका थिए। बसमा सवार सबै भारतीय नागरिक हुन्।
भारतबाट दुई वटा बसमा नेपालमा भ्रमणका लागि उनीहरू आएका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो। दुवै बसमा गरी ९० जनाभन्दा बढी पर्यटक थिए।
अर्को बसमा उनीहरूका आफन्तहरूसमेत थिए। अर्को बसका आफन्तको सहयोगमा प्रहरीले मृतकहरूको सनाखत गर्न सुरु गरेको छ।
दुर्घटनास्थलमा भारतीय दूतावासका प्रतिनिधि पनि पुगेका छन्।


