जुम्ला- जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ। केहीले पढाइ हुन्छ भन्नेमा नै विश्वास गर्दैनन्। थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ होला? भनेर खिसी गर्छन्।
ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन। प्रगति र विकासका लागि भूगोल बाधक हुन सक्दैन, अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने उदाहरण पेस गर्दैछ अब जुम्ला। भूगोलमा ‘दुर्गम’ जुम्लाले अब सुगममा चिकित्सक तथा जनस्वास्थ्यविज्ञ पठाउँदैछ।
मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ।
यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ। जसको तयारीमा प्रतिष्ठान जुटेको छ। दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको समुपस्थिति कार्यक्रम रहेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।
स्थापनाकालको १३ वर्षपछि पहिलोपटक हुन थालेको दीक्षान्त समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेकाले त्यसको तयारीमा जुटेको उनले बताए। उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन्।
‘प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ,’ रावले भने, ‘सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ। सोही अनुसार तयारी गर्दैछौँ।’
कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उनले बताए। प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन्।
दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताए। समारोहमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ।
सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ।


