काठमाडौँ- भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से काठमाडौँ आइपुगेकी छन्।
शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा भारतीय यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न उनी काठमाडौँ आइपुगेकी हुन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राज्यमन्त्री खड्सेले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको भारतीय दूतावासले जानकारी दिएको छ।
पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ। दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।
इन्डियन एक्सप्रेसका अनुसार दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय नागरिकको शव लैजानका लागि राज्यमन्त्री खड्से विशेष विमानबाट काठमाडौँ आएकी हुन्।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा केन्द्रीय गृहमन्त्री अमित शाहले शव फिर्ता लैजान भारतीय वायुसेनाको विशेष विमानको व्यवस्था र समन्वयका लागि विशेष अधिकारी नियुक्त गरेको जनाइएको छ।
दुर्घटनामा परेका सबै महाराष्ट्रको जलगाउँका स्थानीय हुन्।


