काठमाडौँ– सुनकोसी नदीमा खसेर बेपत्ता भएको जिपलाई प्रहरीले फेला पारेको छ। बिहान २ बजेतिर गाडी फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए।
शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेबाट नदीमा खसेको गाडीलाई प्रहरीले फेला पारे पनि त्यसमा सवार तीन यात्रु भने बेपत्ता छन्।
हलेसीबाट काठमाडौंतर्फ गुड्दै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको गाडीमा सवार एक जना मात्र बाँच्न सफल भएका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिकाका सुशान्त कक्षपति घाइते छन्। उनी गाडीबाट हाम फालेर बाँचेका छन्। उनलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।
तर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको काफ्लेले बताए।


