कावासोती– नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन्।
दुर्लभ रक्त समूह भएकाहरुबीच एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुवेदीले जानकारी दिए।
शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ।
समितिको अध्यक्षमा सोम सुवेदी, उपाध्यक्षमा सोनी श्रेष्ठ, सचिवमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएको नेपाल रेडक्रस सोसाईटी उप शाखा कावासोतीका सभापती बाबुराम कण्डेल ले जानकारी दिए।
समितिका सदस्यहरुमा बिक्रम कार्की , गोबिन्द ढकाल , लोकेन्द्र वयम्बु , रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन्। समितिमा सहसचिब , सहकोषाध्यक्ष सहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने कँडेलले बताए।
जिल्ला स्तरीय भेलाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष डिल्लिराम कडरियाले दुर्लभ रक्त समूह भएकाहरू संगठित हुनु आफैंमा निकै महत्वपूर्ण काम भएको बताए।


