काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन उद्घाटन गरेका छन्।
१ अर्ब २६ करोड ७४ लाखमा भवन बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नव निर्मित भवनमा ४ सय प्रहरीका लागी ब्यारेक र ३ सय थुनुवा राख्न मिल्ने थुनुवा कक्ष छन्।
प्रहरीले साविकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेको थियो।
जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो।
पहिलोपटक प्रधानमन्त्री हुँदा २०७६ असार १० मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खाद्य संस्थानको १५ रोपनी जग्गा काठमाडौँ प्रहरीको नाममा खरिद गर्ने निर्णय गरेको थियो।
उक्त जग्गामा बनेको अत्याधुनिक भवन केपी शर्मा ओलीले नै उद्घाटन गरेका हुन्।
‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन,’ भवन उद्घाटन गर्दै ओलीले भने, ‘यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ।’
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस्।’
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी गर्व गर्न लायक संस्था भएको बताएका छन्। काठमाडौँ प्रहरीको भवन उद्घाटन समारोहमा उनले भने, ‘प्रहरी गर्व गर्न लायक संस्था हो।’
सीमित स्रोत र साधन भए पनि प्रहरीले असीमित काम गरेको लेखकले भने।
‘देशभर ६ सय अस्थायी चौकी र इलाका प्रशासन माग भएको छ तर, हामीले ५ वटा पनि दिन सकेका छैनौँ,’ उनले भने।
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को १ सय दिनभित्र प्रहरी र सशस्त्रको नयाँ ऐनको मस्यौदा प्रतिनिधिसभामा दर्ता गरिने लेखकले बताए।
‘कम्तीमा यो सरकार बनेको १ सय दिनमा दुवै सङ्गठनको ऐनका मस्यौदा हाउसमा लैजाने काम पुरा गरिन्छ,’ उनले भने।
उद्घाटनका तस्बिरहरु


