इस्लामाबादः पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा गरिएका श्रृंखलाबद्ध हिंसात्मक घटनामा २३ जनाको हत्या भएको छ। मुसाखेल जिल्लाको रारशाम इलाकामा बन्धुकधारीहरूले पञ्जाब र बलुचिस्तानलाई जोड्ने प्रमुख राजमार्ग अवरुद्ध गरेका थिए र विभिन्न सवारी साधनमा रहेका व्यक्तिहरूलाई लक्षित गरी गोली हानेका थिए।
घटनामा ३० देखि ४० जना बन्धुकधारी सहभागी रहेको अनुमान गरिएको छ, जसले २२ वटा गाडी रोकेर विशेष गरी पञ्जाबबाट आएका व्यक्तिहरूलाई पहिचान गरेर गोली हानेका थिए। यस क्रममा २३ वटा गाडीमा आगो लगाइएको छ।
प्रहरी टोलीले घटनास्थलमा पुगेपछि शव संकलन गरि अस्पतालमा पठाएका छन्। यस अत्यन्तै हिंसात्मक घटनाको जिम्मा चरमपन्थी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ।
यो घटनापछि सुरक्षा बलले जवाफ कारबाही गरिरहेको छ र १२ चरमपन्थीलाई मारिएको जानकारी प्राप्त भएको छ। प्रहरी चौकी, सुरक्षा बलको शिविर, र सरकारी कार्यालयहरूमा पनि आक्रमण भएको छ, जसले बलुचिस्तानमा सुरक्षा र स्थिरताको स्थितिमा थप चुनौती थपेको छ।


