काठमाडौँ– प्रतिनिधि सभाको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच जुहारी चलेको हो।
नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे। ‘सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ’, उनले भने।
सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए। सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाउन माग गरे।
सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे।
सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए।ा उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने उल्लेख गरे।
सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे। ‘उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छनबिन गर्नुपर्छ’, उनले भने। सांसद् प्रेम सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निस्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे। सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुन सम्मत नभएको बताएका थिए।
सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, दोषी उम्कन नहुने बताए।
सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए। सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताए। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक होस् त्यसका निम्ति आफूहरु तयार रहेको बताए।
सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। सरकारले भुटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदरुकता देखाएकाप्रति धन्यवाद ज्ञापन गरे। सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नु माग गरे।
सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए।
उता राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका थिए। राष्ट्रियसभाको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गरे।
गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको घटना सुनाउँदै उहाँले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने तर्क गरे। ‘नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ,’ उनले भने।
त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उहाँको बैठकलाई जानकारी दिए। ‘वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्काे पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पन्छन्,’ उनले भने।
काम गर्ने व्यक्तिका लागि कुनै मन्त्रालय सानो र ठूलो नहुने बताउँदै उहाँले राजनीतिक भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति सुधार्न आवश्यक रहेको बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बैठकमा नेकपा(एमाले)का देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन नभएकोमा आलोचना गर्दै उनले प्रतिपक्ष विरुद्धमा सरकार खनिएको आरोप लगाए।


